• २०८३ कार्तिक १७ मंगलबार

क्रिकेट विश्वकपको भारत–पाकिस्तान खेलको टिकट माग फाइनलभन्दा बढी, ८४ लाख आवेदन

क्रिकेट विश्वकपको भारत–पाकिस्तान खेलको टिकट माग फाइनलभन्दा बढी, ८४ लाख आवेदन

काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल हेर्न दर्शकले देखाएको उत्साह फाइनलको भन्दा पनि बढी देखिएको छ । अर्कोबर्ष अक्टोबर १० मा जोहानेसबर्गमा हुने भारत–पाकिस्तान खेलका लागि ८३ लाख ९७ हजार २९४ वटा टिकट आवेदन परेका छन् ।

जोहानेसबर्गस्थित उक्त रङ्गशालाको दर्शक क्षमता ३४ हजार मात्र छ । यसअनुसार उपलब्ध सिटभन्दा करिब २४७ गुणा बढी आवेदन परेको छ । नोभेम्बर २१ मा सोही रङ्गशालामा हुने विश्वकप फाइनलका लागि भने ७९ लाख ९४४ वटा आवेदन परेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) जनाएको छ ।

विश्वकपका खेलको टिकट आवेदन प्रक्रिया नोभेम्बर २१, २०२६ सम्म खुला रहनेछ । टिकटको माग उपलब्ध सिटभन्दा बढी भएमा कम्प्युटर प्रणालीमार्फत गोलाप्रथाबाट टिकट खरिद गर्न पाउने आवेदक छनोट गरिनेछ । यो पहिले आवेदन दिनेले पहिले टिकट पाउने प्रणाली भने होइन ।

आइसीसीका अनुसार हालसम्म १९३ देशबाट प्रतियोगिताका लागि १२ करोडभन्दा बढी टिकट आवेदन प्राप्त भएका छन् । दक्षिण अफ्रिकामा हुने ४१ खेलका लागि मात्रै १० करोड ५० लाखभन्दा बढी आवेदन परेका छन् । आयोजक टोली दक्षिण अफ्रिकाका खेलका लागि करिब दुई करोड ६० लाख आवेदन परेको छ ।

२४ वर्षपछि एकदिवसीय विश्वकप अफ्रिकी भूमिमा फर्किन लागेको हो । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगितामा १४ टोली सहभागी हुनेछन् । १२ वटा रङ्गशालामा कुल ५७ खेल सञ्चालन हुनेछन् । तीमध्ये आठ रङ्गशाला दक्षिण अफ्रिका, तीन जिम्बाब्वे र एउटा नामिबियामा रहनेछन् । नामिबियाले पहिलोपटक पुरुषको वरिष्ठ विश्वकपका खेल आयोजना गर्न लागेको हो । दक्षिण अफ्रिका र जिम्बाब्वेले यसअघि सन् २००३ को विश्वकप आयोजना गरेका थिए ।

यसअघि पनि क्रिकेटका ठूला प्रतियोगितामा टिकट वितरणका लागि गोलाप्रथा प्रणाली अपनाइएको थियो । सन् २०११ को एकदिवसीय विश्वकपमा भारतमा हुने सेमिफाइनल र फाइनलका टिकटका लागि सार्वजनिक गोलाप्रथा प्रणाली लागू गरिएको थियो । सन् २०१६ को टी–२० विश्वकपमा भारतका खेलसहित सेमिफाइनल र फाइनलका टिकट गोलाप्रथाबाट वितरण गरिएको थियो । सन् २०१९ को एकदिवसीय विश्वकपमा क्रिकेट परिवार र सर्वसाधारणका लागि दुई चरणमा टिकट छनोट गरिएको थियो । सन् २०२४ को टी–२० विश्वकपमा पनि सार्वजनिक गोलाप्रथा प्रणाली अपनाइएको थियो । त्यतिबेला भारत–पाकिस्तान खेलका लागि उपलब्ध सिटभन्दा २०० गुणाभन्दा बढी आवेदन परेको थियो ।

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप २०२७ को अक्टोबर २ देखि २१ नोभेम्बरसम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना हुदैछ ।  यस विश्वकपमा १४ देश खेल्दैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै