काठमाडौं । सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न लागेको हो ।
कम्पनीको महेन्द्रनगर शाखाले सुरुमा किसानबाट मोटा धान खरिद गर्नेछ । यसपछि अन्य जिल्लामा पनि क्रमशः धान खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।
महेन्द्रनगर शाखाले कात्तिक १९ र २० गते कार्यालय परिसरबाट किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ । कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ ।
कम्पनीका अनुसार धान तौलने काम कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन हुनेछ । धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ । कम्पनीले तोकिएको मिति र आवश्यक कागजातसहित उपस्थित हुन किसानलाई आग्रह गरेको छ ।
सरकारले मोटा धानको मुल्य प्रति क्विन्टल ३६६० रुपैयाँ र मध्यम धानको मुल्य प्रति क्विन्टल ३८६० तोकेको छ ।
कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत असोज २१ गते भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो ।









