बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–०६ शहीदपथ क्षेत्रमा बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा पार्क गरिएका ती सवारीसाधन फेला पारेको हो ।
बरामद गरिएका कारमध्ये एक हुन्डाई कम्पनीको युपी ५३ बिडी ००२९ नम्बर प्लेटको रहेको छ भने अर्को महिन्द्रा कम्पनीको युपी ५३ डिएफ ६९८० नम्बर प्लेटको रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती दुवै सवारीसाधनको अनुमानित बजार मूल्य करिब २७ लाख रुपैयाँ रहेको छ ।
बरामद गरिएका कार आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भैरहवा भन्सार कार्यालय, बेलहिया, रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।









