काठमाडौँ । डोनाल्ड ट्रम्प यसै हप्ताको जुन १४ मा ८० वर्ष पुगेका छन् । राष्ट्रपति पदमा रहँदा ८० वर्षको उमेर पुरा गर्ने अमेरिकाका दोस्रो राष्ट्रपति बनेका छन् । यसअघि जो बाइडेनले नोभेम्बर २०२२ मा आफ्नो ८०औँ जन्मदिन मनाएका थिए ।
ट्रम्प अहिले विश्वका सबैभन्दा उमेरदार नेतामध्ये पर्छन् । तर उनी विश्वकै सबैभन्दा वृद्ध शासक भने होइनन् । प्यू रिसर्च सेन्टरको तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघका १८६ देशका नेतामध्ये १६ जना नेता ट्रम्पभन्दा पनि बढी उमेरका छन् ।
उक्त तथ्याङ्क अनुसार ट्रम्प विश्वका करिब ९१ प्रतिशत राष्ट्रिय नेताभन्दा जेठा हुन् । विश्वका राष्ट्रिय नेताहरूको औसत उमेर करिब ६३ वर्ष रहेको देखिन्छ ।
विश्वका हालका सबैभन्दा वृद्ध राष्ट्रिय नेता क्यामरुनका राष्ट्रपति पउल बिया हुन् । उनी ९३ वर्षका छन् र सन् १९८२ देखि सत्तामा छन् । त्यसपछि साउदी अरबका राजा सलमान बिन अब्दुलअजिज अल साउद पर्छन्, जसको उमेर ९० वर्ष छ र उनी सन् २०१५ देखि देशको नेतृत्व गर्दै आएका छन् ।
त्यसैगरी रुसी राष्ट्रपति भ्लादमिर पुटिन ७३ बर्षका छन् भने चीनका राष्ट्रपति सी जीङपीङ ७२ बर्षका छन् । त्यस्तै लामो समय प्रधानमन्त्री बनेको किर्तिमान बनाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७५ बर्षका छन् ।
तथ्याङ्कमा देखिएअनुसार सबैभन्दा बढी उमेर भएका नेतामध्ये ठूलो संख्या अफ्रिकी देशका छन् । यस सूचीमा युगान्डा, इक्वेटोरियल गिनी, मलावी, आइभरी कोस्ट, जिम्बाब्वे र गणतन्त्र कङ्गोका नेताहरू पनि पर्छन् । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी ८२ वर्षका छन् र करिब ४० वर्षदेखि सत्तामा छन् । इक्वेटोरियल गिनीका राष्ट्रपति तेओदोरो ओबियाङ न्गुएमा म्बासोगो पनि लामो समयदेखि शासन गर्ने नेतामध्ये गनिन्छन् । उनी सन् १९७९ देखि देशको नेतृत्व गरिरहेका छन् ।
विश्वका शीर्ष १० सबैभन्दा वृद्ध नेतामध्ये ७ जना त्यस्ता देशका हुन्, जसलाई स्वतन्त्रताको दृष्टिले ‘अस्वतन्त्र’ श्रेणीमा राखिएको छ । यी देशहरूमा लोकतान्त्रिक स्वतन्त्रता र राजनीतिक अधिकार सीमित रहेको बताइन्छ ।
ट्रम्पभन्दा बढी उमेर भएका १६ नेतामध्ये झन्डै आधा त्यही श्रेणीका देशको नेतृत्व गरिरहेका छन् । यस कारण लामो समयसम्म सत्तामा रहने विषयले लोकतान्त्रिक जवाफदेहितामा असर पार्छ कि पार्दैन भन्ने बहस फेरि चर्किएको छ ।









