• २०८३ असार ३ बुधबार

इरानसँगको सहमतिपछि ट्रम्प प्रशासनमा मतभेदको दाबी

इरानसँगको सहमतिपछि ट्रम्प प्रशासनमा मतभेदको दाबी

काठमाडौँ । इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सहमतिले अमेरिकी सरकारभित्रै गम्भीर मतभेद देखिएको छ । एक्सियोसको रिपोर्टअनुसार सिआइए प्रमुख जोन र्याटक्लिफले इरानले सहमतिमा गरिएका सबै प्रतिबद्धता पूरा गर्ने वा नगर्ने विषयमा शंका व्यक्त गरेका छन् ।

त्यस्तै विदेशमन्त्री मार्को रुबियोले पनि इरान आफ्नो आणविक कार्यक्रमबारे अमेरिकाले अपेक्षा गरेअनुसारका कदम चाल्न तयार नरहेको धारणा राखेका छन् । सोही रिपोर्टमा रक्षामन्त्री पिट हेगसेथले समेत उक्त सहमतिबारे चिन्ता व्यक्त गरेको उल्लेख छ । तर उपराष्ट्रपति जे. डी. भान्स, विशेष दूत स्टिभ विटकोफ र जेरेड कुश्नर भने उक्त सहमति अघि बढाउनुपर्ने पक्षमा रहेको बताइएको छ ।

यसैबीच, वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट अधिकारीहरू त्यसबेला छक्क परेका थिए, जब ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए । ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै सम्झौता पूरा भएको बताएका थिए ।

रिपोर्टमा जनाइएअनुसार ट्रम्पले ह्वाइट हाउसमा उक्त कागजातमा डिजिटल हस्ताक्षर गरेका थिए । यस्तै, ट्रम्पले उक्त सम्झौतामा हस्ताक्षर गरिरहेकै समयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता पनि गरेको दाबी गरिएको छ ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका-इरान सम्झौतापछि हुने आगामी वार्ता दुई चरणमा हुने जानकारी दिएका छन् ।

पहिलो चरणमा होर्मुज जलडमरूको अवस्था, अमेरिकी नौसैनिक नाकाबन्दी र पुनर्निर्माणका विषयमा छलफल हुनेछ । त्यसपछि दोस्रो चरणको वार्ता सुरु हुनेछ, जुन ६० दिनसम्म चल्नेछ । यस अवधिमा आणविक कार्यक्रम र प्रतिबन्ध खुकुलो बनाउने विषयमा मुख्य छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै