काठमाडौँ । अवैध लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेटसहित नुवाकोट तार्केश्वर गाउँपालिका–५ घर भएका २९ वर्षीय साजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।
यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ ठुटेचोकबाट ३८ वर्षीया लिला राईलाई ६ किलोग्राम गाँजासहित पक्राउ गरिएको छ । प्रहरी चौकी भरोलबाट खटिएको टोलीले घर तलासीका क्रममा उक्त गाँजा बरामद गरेको हो ।
उता कैलालीको बर्दगोरिया गाउँपालिका–२ बर्दगोरियाबाट खैरो हेरोइनजस्तो देखिने ६८० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २२ वर्षीय रमेश बुढा र २४ वर्षीय विकास परियार रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









