• २०८३ बैशाख १९ शनिबार

इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्‍याएको जनाएको छ ।

प्रतिवेदनका अनुसार कुवेतस्थित क्याम्प ब्यूहरिङजस्ता अमेरिकी सैन्य केन्द्र, जुन पहिले मरुभूमिमा सानो सहरजस्तै सक्रिय थियो, अहिले लगभग खाली र क्षतिग्रस्त अवस्थामा पुगेको छ । इरानले मिसाइल र ड्रोन प्रयोग गरी हप्तौँसम्म निरन्तर आक्रमण गर्दै यी अड्डाहरूलाई निशाना बनाएको उल्लेख गरिएको छ ।

इरानले कम्तीमा ८ देशमा रहेका १६ वटा अमेरिकी सैन्य अड्डामा क्षति पुर्‍याएको बताइएको छ । तीमध्ये धेरै अड्डा प्रयोगयोग्य नरहेको उल्लेख छ । एक अमेरिकी स्रोतका अनुसार यति छिटो र यति सटीक आक्रमण पहिले कहिल्यै देखिएको थिएन ।

यी हमलामा इरानले महँगा सैन्य उपकरणहरूलाई समेत लक्षित गरेको छ । उदाहरणका रूपमा बोइङ ई-३ सेन्ट्री जस्तो निगरानी विमान, जसको मूल्य करिब ५० करोड डलर रहेको बताइन्छ, त्यसलाई पनि निशाना बनाइएको छ । साथै स्याटेलाइट सञ्चार प्रणाली जोगाउने ‘रेडोम’ र रडार प्रणालीहरू पनि ठूलो मात्रामा नष्ट गरिएका छन्, जुन हवाई सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् ।

प्रतिवेदनले इरानको आक्रमण क्षमतामा प्रविधिगत सुधार पनि मुख्य कारण भएको उल्लेख गरेको छ । सन् २०२४ मा तेहरानले चीनको टीईई-०१बी स्याटेलाइट प्राप्त गरेपछि उच्च गुणस्तरका तस्बिर प्राप्त गर्न सक्ने र अझ सटीक रूपमा निशाना लगाउन सक्ने क्षमता बढेको बताइएको छ ।

यस अवस्थाले खाडी क्षेत्रका देशहरूलाई नयाँ द्विविधामा पारेको छ । एकातिर सुरक्षाका लागि उनीहरू अमेरिकामाथि निर्भर छन् भने अर्कोतर्फ अमेरिकी सैन्य अड्डाहरू पहिले जत्तिकै सुरक्षित नरहेको र सजिलै निशाना बन्न सक्ने अवस्था स्पष्ट भएको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै