काठमाडौं । विश्वभर आज विश्व सुनामी सचेतना दिवस मनाइँदै छ । यस वर्षको नारा ‘सुनामीका लागि तयार बनौँ, उत्थानशीलता तपाईंबाटै सुरु हुन्छ’ रहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१५ मा यो दिवस मनाउने निर्णय गरेको थियो । यस वर्ष व्यक्तिगत तथा सामुदायिक तयारी, प्राकृतिक चेतावनीका संकेत पहिचान र सुरक्षित स्थानमा तत्काल पुग्ने उपायबारे जनचेतना फैलाउन जोड दिइएको छ ।
समुद्रमा असामान्य रूपमा पानीको सतह घटबढ हुनु, शक्तिशाली भूकम्पको धक्का महसुस हुनु र समुद्रबाट असामान्य गर्जन सुनिनु सुनामीका प्राकृतिक संकेत हुन् । यस्ता संकेत देखिएमा ढिलाइ नगरी अग्लो स्थान वा समुद्रबाट टाढा सुरक्षित क्षेत्रमा जान र पूर्वनिर्धारित उद्धार मार्ग अपनाउन आग्रह गरिएको छ ।









