काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल, पटनाबाट प्राप्त गरेको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा भट्टराईले उक्त शैक्षिक प्रमाणपत्र २०५५ वैशाख ८ गते विभागमा पेस गरेको पाइएको छ। सोही प्रमाणपत्रका आधारमा उनले २०५६ जेठ १० गते सहायक निरीक्षक, २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृतमा बढुवा भएको आयोगले जनाएको छ ।
प्रमाणपत्र जारी गर्ने निकायबाट प्राप्त प्रमाणीकरण विवरणमा भट्टराईको नाम र कुल प्राप्ताङ्क अभिलेखसँग नमिलेको उल्लेख छ। नक्कली प्रमाणपत्रका आधारमा शैक्षिक योग्यताको अंक प्राप्त गरी विभिन्न पदमा बढुवा भएको र त्यसबाट पद, ओहोदा तथा सेवा सुविधासमेत लिएको आयोगको दाबी छ ।
आयोगले भट्टराईको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै कानुनअनुसार सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ ।









