काठमाडौं । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो पुरुष एकदिवसीय टोली वरीयतामा अफगानिस्तान छैटौँ स्थानमा उक्लिएको छ । श्रीलंकालाई पछि पार्दै अफगानिस्तान पहिलो पटक शीर्ष ६ मा प्रवेश गरेको हो ।
२ नोभेम्बर २०२६ मा अद्यावधिक वरीयताअनुसार भारत ११५ रेटिङसहित शीर्ष स्थानमा छ । न्युजिल्यान्ड १०९ रेटिङसहित दोस्रो, दक्षिण अफ्रिका र पाकिस्तान समान १०४ रेटिङसहित क्रमशः तेस्रो र चौथो तथा अस्ट्रेलिया १०२ रेटिङसहित पाँचौँ स्थानमा छन् । अफगानिस्तान ९४ रेटिङसहित छैटौँ स्थानमा रहँदा समान ९४ रेटिङ भए पनि श्रीलंका सातौँ स्थानमा छ । त्यसपछि इंग्ल्यान्ड आठौँ, बंगलादेश नवौँ र वेस्ट इन्डिज दसौँ स्थानमा छन् ।
अफगानिस्तानको यो उपलब्धिपछाडि पछिल्ला महिनाको उत्कृष्ट प्रदर्शन मुख्य कारण बनेको छ । टोलीले गत अगस्टमा आयरल्यान्डलाई उसकै घरेलु मैदानमा ४–० ले हराएको थियो । त्यसपछि संयुक्त अरब इमिरेट्समा जिम्बाब्वे र बंगलादेशसँग भएको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा अपराजित रहँदै उपाधि जितेको थियो ।
सन् २००९ मा एकदिवसीय क्रिकेटमा प्रवेश गरेको अफगानिस्तानले १७ वर्षमै विश्वका शीर्ष ६ टोलीमा स्थान बनाउन सफल भएको हो । टोलीले अहिलेसम्म खेलेका १९१ एकदिवसीय खेलमध्ये ९६ मा जित हासिल गरेको छ । यसअघि नै अफगानिस्तानले बंगलादेश, इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई वरीयतामा पछि पारिसकेको थियो ।
आईसीसीको टोली वरीयता पछिल्ला खेलको नतिजा र टोलीले प्राप्त गरेको रेटिङका आधारमा निर्धारण हुन्छ । बलिया टोलीविरुद्धको जितले वरीयता सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । अफगानिस्तानको सफलतामा स्पिन बलिङसँगै ब्याटिङको योगदान पनि महत्त्वपूर्ण छ । इब्राहिम जादरान, रहमानुल्लाह गुरबाज र सदिकुल्लाह अटलजस्ता खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्।
नेपाल भने पछिल्लो वरीयतामा ३० रेटिङसहित १७औँ स्थानमा रहेको छ ।









