काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) का फ्रेन्चाइजीले सन् २०२७ को खेलाडी अक्सनअघि खेलाडी रिटेन र रिलिज गर्ने सूची बुझाउने समयसीमा दुई दिन थप गरिएको छ ।
यसअघि नोभेम्बर १५ तोकिएको समयसीमा अब नोभेम्बर १७ सम्म कायम गरिएको छ । आगामी सिजनको खेलाडी अक्सन डिसेम्बर १६ मा गोवामा हुनेछ ।
खेलाडी दर्ता गर्ने समय नोभेम्बर २३ मा सकिनेछ । फ्रेन्चाइजीहरूले नोभेम्बर २७ सम्म थप खेलाडी दर्ताका लागि अनुरोध गर्न सक्नेछन् । अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सूची डिसेम्बर ३ मा फ्रेन्चाइजीहरूलाई पठाइनेछ।
लिलामीअघि अहिलेसम्म दुई खेलाडी ट्रेड भएका छन् । दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सबाट पूर्वकप्तान ऋषभ पन्तलाई टोलीमा फर्काएको छ भने कुलदीप यादव लखनउ पुगेका छन् । त्यस्तै, दिल्लीले तीव्र गतिका बलर टी नटराजनलाई सनराइजर्स हैदराबादसँग साटेर लेग स्पिनर जीशान अन्सारीलाई भित्र्याएको छ ।
आईपीएल २०२७ को प्रतियोगिता सञ्चालन हुने मिति भने तय भएको छैन । भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित सैकियाले प्रतियोगिता मार्चको अन्त्यतिर सुरु हुन सक्ने सङ्केत गरेका छन् ।
हालको चक्रअन्तर्गत यो अन्तिम मिनी अक्सन हुनेछ । सन् २०२८ को सिजनअघि मेगा अक्सन हुने छ । त्यससँगै आईपीएलको नयाँ प्रसारण अधिकार चक्र पनि सुरु हुनेछ । सन् २०२२ मा आईपीएलको प्रसारण अधिकार ४८ हजार ३९० करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएको थियो ।









