• २०८३ भदौ १८ बिहीबार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट इन्धन र ग्यास काठमाडौँ ल्याइदै

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट इन्धन र ग्यास काठमाडौँ ल्याइदै

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा उद्धार कार्यका लागि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति र वितरणलाई निरन्तरता दिएको जनाएको छ ।

भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड कटान गरेपछि सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर तथा ग्यास बुलेट आउन नसक्ने अवस्था बनेको निगमले जनाएको छ । त्यसपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा त्रिभुवन राजपथ हुँदै वैकल्पिक रूपमा पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्ति भइरहेको छ ।

निगमका अनुसार काठमाडौं उपत्यकाका लागि आज विभिन्न ब्रान्डका करिब २४ हजार ५०० ग्यास सिलिन्डर ल्याउने व्यवस्था गरिएको छ । भोलिदेखि थप परिमाणमा ग्यास नियमित रूपमा ल्याइने निगमले जनाएको छ। तराईका ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यकामा ल्याउने व्यवस्था मिलाइएको छ ।

खोज तथा उद्धारमा प्रयोग भइरहेका हेलिकप्टरका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सैनिक ब्यारेकबाट हवाई इन्धन भर्ने व्यवस्था गरिएको छ । भदौ १० गतेदेखि हालसम्म हेलिकप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन पठाइसकिएको निगमले जनाएको छ। त्यहाँबाट इन्धन भर्ने काम नियमित भइरहेको छ ।

त्यस्तै, निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रका सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ । उद्धार कार्यलाई सहज बनाउन सार्वजनिक बिदाका दिनसमेत मागअनुसार पेट्रोल र डिजेल बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

बाढीबाट उद्धार गरी प्रभावित क्षेत्रका विभिन्न आश्रयस्थलमा राखिएका व्यक्तिका लागि आवश्यक खाना पकाउने ग्याससमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका लागि ५०० थान ग्यास सिलिन्डर पठाउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै