• २०८३ भदौ १८ बिहीबार

लुभुमा ‘अन टेस्ट’ विद्युतीय हाइस दुर्घटना हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

लुभुमा ‘अन टेस्ट’ विद्युतीय हाइस दुर्घटना हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँ  । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ विद्युतीय हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भएको हाइस घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ ।

दुर्घटनामा हाइस चालक महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला गम्भीर घाइते भएका छन्। उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन पनि गम्भीर घाइते भएका छन्। उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा मध्यम घाइते भएकी छन् । उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जन भने सामान्य घाइते भएका छन् । उनको पनि किस्ट अस्पतालमा उपचार भइरहेको छ । हाइसमा चार जना मात्रै सवार रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै