काठमाडौँ । जारी फिफा विश्वकपको समूह ‘ई’ अन्तर्गत भोली बिहान इक्वेडर र कुरासाओबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको कानसास सिटीमा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
जर्मनीसँग पहिलो खेलमा भारी पराजय भोगेको कुरासाओ यस खेलमा पुनरागमन गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । पहिलो खेलमा कुरासाओले जर्मनीविरुद्ध ७-१ को ठूलो हार बेहोरेको थियो । उक्त खेलमा लिभानो कोमेनेन्सियाले गोल गर्दै विश्वकपमा कुरासाओलप पहिलो गोल गरे पनि टोलीले ठूलो हारबाट बच्न सकेन ।
यो हारसँगै कुरासाओ विश्वकप इतिहासमा पहिलो खेलमै ७ वा सोभन्दा बढी गोल खाने दोस्रो टोली बनेको छ । यसअघि सन् १९५४ मा दक्षिण कोरियाले हंगेरीसँग ९-० ले पराजय भोगेको थियो।
कुरासाओका प्रशिक्षक डिक अड्भोकाटले भने टोली अझै पनि राम्रो प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार समूह चरणका बाँकी खेलमा नतिजा बदल्ने अवसर रहनेछ । यदि कोमेनेन्सियाले यो खेलमा पनि गोल गर्न सके, उनी उत्तर–मध्य अमेरिकी क्षेत्रका राष्ट्रबाट लगातार दुई विश्वकप खेलमा गोल गर्ने दुर्लभ खेलाडी सूचीमा पर्न सक्नेछन् ।
यता इक्वेडरले भने पहिलो खेलमा आइभरी कोस्टसँग १-० को हार बेहोरेको थियो । २० खेलपछि पहिलो हार भोगेको इक्वेडर लगातार तीन विश्वकप खेलमा जितविहीन अवस्थामा छ । इक्वेडरका प्रशिक्षक सेबास्टियन बेक्काचेचेले सुरुआती हारपछि टिममा अझै आत्मविश्वास र दृढता आवश्यक रहेको बताएका छन् । उनका अनुसार टोलीले पहिलो खेलमा धेरै अवसर सिर्जना गरे पनि अन्तिम समयमा गोल खाएको थियो, जसले नतिजा उल्टिएको हो ।
इक्वेडरले यसअघि उत्तर-मध्य अमेरिकी टोलीविरुद्ध पछिल्ला १३ खेलमा हार बेहोरेको छैन । त्यसैले क्युरासाओविरुद्ध पनि उनीहरू बलियो दाबेदार मानिएका छन् । यो खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ, किनभने हारले विश्वकप यात्रा टुंगिने बाटोमा जाने छ ।









