• २०८३ असार ६ शनिबार

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।

पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा भूमिगत इन्धन भण्डारण ट्याङ्की रहेको क्षेत्रको विशेष सुरक्षा गरिने जनाइएको छ । त्यसबाहेकका अन्य संरचना भने हटाइनेछन् ।

सेती नदीतर्फ रहेको बास्तोला कम्प्लेक्ससहित बाँकी संरचना शनिबार हटाउने कार्य सुरु गरिने र संरचना हटाइसकेपछि त्यहाँ रहेका निर्माण सामग्री व्यवस्थापन गरी क्षेत्र पूर्ण रूपमा सफा गरिने बताइएको छ ।

यता, सुकुम्वासी बस्ती व्यवस्थापनअन्तर्गत ५७२ परिवारमध्ये ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भएको छ । गलत वा झुट्टा विवरण पेस गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिदै सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउने काम नगरिने स्पष्ट पारेको छ । साथै, लालपुर्जा भएका जग्गाधनीहरूको छानबिन कार्य पनि तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

महानगरले अनधिकृत सूचना प्रवाह तथा राजनीतिक उद्देश्यले गरिने गतिविधिमाथि निगरानी बढाइने बताएको छ । गैर-सुकुम्वासी व्यक्तिहरूलाई सुकुम्वासी नेताका रूपमा प्रस्तुत नहुन पनि आग्रह गरिएको छ । विवरण प्रमाणीकरण प्रक्रिया पूरा भएपछि सुकुम्वासी बस्तीलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै