काठमाडौँ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानी राष्ट्रपति मसुद पेजेशकियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन् । आईआरएनएले सार्वजनिक गरेका तस्बिरमा राष्ट्रपति पेजेशकियानले सम्झौतासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरिरहेको तथा दुवै नेताको हस्ताक्षर भएको कागजात देखाउँदै गरेको दृश्य समावेश गरिएको छ ।
राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साय दरबारमा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता सम्पन्न भएको भर्साय दरबार ऐतिहासिक रूपमा पनि महत्वपूर्ण स्थान मानिन्छ । सन् १८७१ मा फ्रान्सले जर्मनीसँग प्रारम्भिक शान्ति सन्धिमा यहीँ हस्ताक्षर गरेको थियो भने सन् १९१९ मा जर्मनीले यही स्थानमा आत्मसमर्पण गरेको थियो ।
सम्झौताअनुसार इरानमा जारी युद्ध अन्त्य गर्ने र लेबनानमा पनि द्वन्द्व समाप्त गर्ने लक्ष्य राखिएको छ । साथै, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउने विषयमा पनि सहमति भएको जनाइएको छ ।
आईआरएनएले सार्वजनिक गरेका थप तस्बिरमा पेजेशकियानले फारसी भाषामा तयार पारिएको समझदारीपत्र हातमा समातेको देखिन्छ । उक्त दस्तावेजको तल्लो भागमा राष्ट्रपति पेजेशकियान र राष्ट्रपति ट्रम्प दुवैको हस्ताक्षर रहेको देखाइएको छ ।









