• २०८३ असार ३ बुधबार

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन् ।

बुधबार भएको भेटमा सभामुख अर्यालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध लामो समयदेखि आपसी सम्मान, विश्वास र समानतामा आधारित रहेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्य अझ विस्तार र सुदृढ गर्नुपर्ने बताएका थिए । उनले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै त्यसबाट नेपालले सिक्न सक्ने धेरै कुरा रहेको धारणा राखेको सभामुखको सचिवालयले जानकारी दिएको छ  ।

सभामुख अर्यालले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन, ऊर्जा, व्यापार र पर्यटन जस्ता क्षेत्रमा सहकार्य बढाउन सके दुवै देशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै खेलकुद, सांस्कृतिक आदानप्रदान र जनस्तरीय सम्पर्कले दुई देशबीचको मित्रता अझ नजिक ल्याएको बताएका थिए । उनले जलवायु परिवर्तनका साझा चुनौतीबारे पनि चर्चा गर्दै हिमाली क्षेत्र र समुद्री तटीय क्षेत्र दुवैमा देखिएका असरहरू साझा समस्या भएकाले मिलेर समाधान खोज्नुपर्ने बताएका थिए ।

राजदूत मो. शफिकुर रहमानले पनि नेपाल–बङ्गलादेशबीच ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताउदै दुवै देशले प्राकृतिक विपद्, जलवायु परिवर्तन र विकासका चुनौतीहरू समान रूपमा सामना गरिरहेको उल्लेख गर्दै अनुभव आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । राजदूत रहमानले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई थप मजबुत बनाउँदै साझा हितका विषयमा मिलेर अघि बढ्नुपर्ने आवश्यकता समेत औँल्याएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै