काठमाडौँ । अमेरिकी डेमोक्रेट सांसद हाकिम जेफ्रिजले विदेशमन्त्री मार्को रुबियोलाई केप भेर्डेका गोलरक्षक भोजिन्हाकी आमालाई अमेरिका प्रवेश गर्न अनुमति दिन र विश्वकपमा आफ्नो छोराको खेल प्रत्यक्ष हेर्न सहयोग गर्न आग्रह गरेका छन् ।
भोजिन्हाकी आमा आना कान्दिदा एभोराले अमेरिका प्रवेशका लागि आवश्यक भिसा धरौटी रकम अत्यधिक महँगो भएका कारण स्पेनविरुद्धको खेल हेर्न अमेरिका यात्रा गर्न सकेकी थिइनन् ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भिसाको अवधि नाघेर बस्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले केप भेर्डेसहित दर्जनौँ देशलाई यस्तो सूचीमा राखेको थियो, जसअन्तर्गत ती देशका नागरिकले अमेरिका प्रवेश गर्न १५ हजार अमेरिकी डलरसम्मको धरौटी रकम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।
यद्यपि गत महिना अमेरिकाले विश्वकपको टिकट भएका समर्थकका लागि यो व्यवस्था हटाएको घोषणा गरेको थियो । प्रतियोगिताका लागि वैधानिक यात्रा सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको बताइएको थियो । तर त्यसबेलासम्म एभोराले करिब ६ हजार ४०० किलोमिटर टाढाको एटलान्टा यात्रा गर्ने प्रयास नै नगर्ने निर्णय गरिसकेकी थिइन् । उनले भनकी छन्- 'म अमेरिका गएर खेल हेर्न निकै चाहन्थेँ, तर त्यो सम्भव भएन ।'
आफ्नो छोराले विश्वकपमा ऐतिहासिक प्रदर्शन गर्दा प्रत्यक्ष उपस्थित हुन नपाएको घटनाले अमेरिकामा व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ । प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रिजले सामाजिक सञ्जालमार्फत कुनै पनि आमाले आफ्नो सन्तानलाई इतिहास रच्दै गरेको क्षण गुमाउनु हुँदैन भन्दै विदेशमन्त्री रुबियोलाई भिसाको प्रबन्ध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्- 'मैले विदेशमन्त्री मार्को रुबियोलाई आइतबार हुने अर्को खेलमा उनी उपस्थित हुन सकून् भनेर आफ्नो अधिकारभित्र रहेर सबै सम्भव प्रयास गर्न अनुरोध गरेको छु ।'
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एभोराले अहिलेसम्म भिसाका लागि आवेदन दिएको कुनै अभिलेख नभेटिएको बताए । तर खेलाडीका आफन्तहरू भिसा धरौटी छुटको सुविधाका लागि योग्य हुने जानकारी दिँदै अमेरिकी सरकारले परिवारसँग सम्पर्क गरेर भिसा प्रक्रियामा सहयोग गरिरहेको बताए ।
केप भेर्डेका गोलरक्षक भोजिन्हाले सोमबार विश्वकपको पहिलो खेलमा बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोक्दै विश्वभर चर्चा कमाएका थिए । उनको वास्तविक नाम जोसिमार डियास हो ।
खेल सकिएपछि उनी भावुक हुँदै मैदानमै रोएका थिए । पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसको एउटा कारण आफ्नी आमा खेल हेर्न आउन नसक्नु रहेको बताए । उनले भनेका थिए- 'मेरी आमा पनि यहाँ आउन सक्नुभएन, किनकि भिसाको समस्या भयो। भिसाका लागि आवश्यक रकम समयमै जुटाउन सकेनौँ। म उहाँ यहाँ भएको हेर्न चाहन्थेँ ।'
यस विश्वकपको सुरुआती चरणमा अध्यागमनसम्बन्धी समस्याहरू बारम्बार देखिएका छन् । सोमाली रेफ्री ओमर आर्तानलाई विश्वकपका खेल सञ्चालन गर्न अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी इरानका केही प्राविधिक टोलीका सदस्यले पनि अमेरिकी भिसा पाउन सकेका छैनन् । टोलीमाथि कडा यात्रा प्रतिबन्ध लगाइएकाले उनीहरूले आफ्नो आधार शिविर मेक्सिकोमा सारेका छन् ।
केप भेर्डे फुटबल महासंघका अध्यक्ष मारियो सेमेडोले साना राष्ट्रका समर्थकका लागि विश्वकप हेर्न जानु आर्थिक रूपमा निकै चुनौतीपूर्ण बनेको बताएका छन् ।









