काठमाडौं । आज विश्व रक्तदाता दिवस । आज विश्वभर 'मानवताको एक थोपा, रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्' भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।
सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
नेपालमा दैनिक ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।
नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेको आँकडा छ । नेपालमा पुरुष रक्तदाता ८६. १ र महिला १३. ९ प्रतिशत रहेका एक तथ्यांकले देखाएको छ । पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेपनि केन्द्रिय रक्तसन्चार केन्द्रले सहयोग र समन्वय नगरेको स्वयंसेवी रक्तदाताले गुनासो गरेका छन् ।
रक्तदान गर्नुपर्छ भन्ने सचेतना बढ्दै गएपनि रगतको सहज आपूर्ति हुन नसकेको, रगत किनबेच हुने गरेको र भनसुनको भरमा रगत पाउनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको गुनासो छ ।









