• २०८३ बैशाख १३ आइतबार

इरान युद्धपछि अमेरिकाका महत्त्वपूर्ण र महँगा हतियारको भण्डारण घट्यो

इरान युद्धपछि अमेरिकाका महत्त्वपूर्ण र महँगा हतियारको भण्डारण घट्यो

काठमाडौँ । इरानसँग ३८ दिनसम्म चलेको युद्धमा अमेरिकाले आफ्ना धेरै महत्त्वपूर्ण र महँगा क्षेप्यास्त्र प्रयोग गरेपछि हतियार भण्डार तीव्र रूपमा घटेको बताइएको छ । चीनजस्ता ठूला देशसँग सम्भावित युद्धका लागि सुरक्षित राखिएका केही क्षेप्यास्त्र पनि यही युद्धमा प्रयोग गरिएको जनाइएको छ ।

रिपोर्टअनुसार अमेरिकाले युद्धमा करिब ११०० लामो दूरीका स्टेल्थ क्षेप्यास्त्र प्रयोग गरेको थियो। यी क्षेप्यास्त्र विशेष रूपमा चीनविरुद्ध प्रयोगका लागि तयार गरिएको मानिन्छ ।

यसका साथै १००० भन्दा बढी टमाहक क्षेप्यास्त्र, १२०० भन्दा बढी प्याट्रियट अवरोधक क्षेप्यास्त्र र १००० भन्दा बढी अन्य आक्रमणकारी क्षेप्यास्त्र प्रहार गरिएको थियो। यो युद्धमा कुल २८ अर्बदेखि ३५ अर्ब डलरसम्म खर्च भएको अनुमान छ । अर्थात् प्रतिदिन करिब १ अर्ब डलर खर्च भएको देखिन्छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको थियो । तर एउटै लक्ष्यमा पटक–पटक आक्रमण भएकाले वास्तविक प्रयोग भएका हतियारको संख्या अझ धेरै रहेको अधिकारीहरूले बताएका छन्।

विशेषगरी लामो दूरीका क्षेप्यास्त्र र टमाहकको भण्डार तीव्र रूपमा घटेको छ। एक अध्ययनअनुसार अहिले अमेरिकासँग करिब ३ हजार टमाहक क्षेप्यास्त्र मात्र बाँकी रहेको बताइएको छ ।

प्याट्रियट अवरोधक क्षेप्यास्त्र पनि तीव्र रूपमा सकिएको छ । एउटा यस्तो क्षेप्यास्त्रको मूल्य करिब ४० लाख डलर पर्छ । सन् २०२५ मा ६०० वटा उत्पादन भए पनि युद्धमा १२०० भन्दा बढी प्रयोग भएको जनाइएको छ ।

ह्वाइट हाउसले भने हतियार सकिएको दाबी अस्वीकार गरेको छ । प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना रहेको र पर्याप्त हतियार मौज्दातमा रहेको बताएकी छन् । हतियार अभावका कारण अमेरिकाले एशिया र युरोपबाट पनि आफ्ना सैन्य स्रोत मध्यपूर्व पठाउनुपरेको जनाइएको छ। यसले त्यहाँ तैनाथ सेनाको तयारीमा असर परेको बताइएको छ ।

अब अमेरिकासामु सबैभन्दा ठूलो चुनौती हतियारको भण्डार पुनः भरिने रहेको विश्लेषकहरूले बताएका छन्। रक्षा विज्ञहरूका अनुसार पुरानै स्तरमा भण्डार पुर्‍याउन धेरै वर्ष लाग्न सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै