काठमाडौं । नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘रातो रातो बरुको’ सार्वजनिक भएको छ। गीतमा चर्चित गायक कुलेन् विश्वकर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ ।
स्लो मोसन पिक्चर्सद्वारा प्रस्तुत गरिएको उक्त गीतमा प्रथम क्षेत्री र सुनिशा बजगाईंको आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर संयोजनले सजिएको यस गीतले दर्शक तथा स्रोता माझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत संयोजन खेम सेन्चुरीले गरेका छन्। भिडियो निर्देशन पनि प्रथम क्षेत्रीले नै गरेका हुन्।
जापानमा बसोबास गर्दै नेपाली गीत–संगीतप्रति गहिरो माया राख्ने निर्माता रबिन्द्र कुँवरको विशेष लगानी र पहलमा तयार गरिएको यो गीतले नेपाली लोक संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
हालै सार्वजनिक गरिएको यस गीतले छोटो समयमा नै दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ। लोक दोहोरी संगीतप्रेमीका लागि नयाँ स्वाद दिने ‘रातो रातो बरुको’ अहिले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध छ ।









