काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।
उनले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विद्यार्थी सङ्गठनको उपस्थिति निषेध गर्ने कदम अलोकतान्त्रिक भएको बताएका छन् । ज्ञवालीले विश्वविद्यालयभित्र ‘सुरक्षा इकाइ’ स्थापना गर्ने निर्णयलाई प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । उनले यस्तो विषयमा हस्ताक्षर हुनु आश्चर्यजनक रहेको टिप्पणी गरेका छन् ।
उनका अनुसार विद्यार्थी आन्दोलनमा केही समस्या भए पनि त्यसलाई निषेध गर्नु समाधान नभएको बताएका छन् । विद्यार्थीका हित, शिक्षाको गुणस्तर सुधार र स्वस्थ शैक्षिक वातावरणका लागि संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले प्रश्न गरेका छन्- 'के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?'
ज्ञवालीले विद्यार्थी आन्दोलनलाई सुधार र रूपान्तरणतर्फ लैजानुपर्ने उल्लेख गर्दै प्रतिबन्धले समस्या झन् जटिल बनाउने चेतावनी दिएका छन् ।









