काठमाडौँ । एशियामा फेरि तनाव बढेको छ । आइतबार उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रतर्फ धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी गरिएको छ ।
दक्षिण कोरियाली सेनाको संयुक्त प्रमुख समितिका अनुसार ती क्षेप्यास्त्र आइतबार बिहान उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र सिनपोबाट प्रक्षेपण गरिएको हो । यो क्षेत्र यसअघि पनि यस्ता परीक्षणका लागि चिनिँदै आएको छ । दक्षिण कोरियाले अवस्थामाथि निरन्तर निगरानी राख्दै सुरक्षा तयारी अझ कडा बनाइएको जनाएको छ ।
यसैबीच जापानमा पनि आइतबार बिहान त्रास फैलिएको छ । उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रक्षेपण भएको खबर आएपछि जापान सरकारले उच्च सतर्कता अपनाउँदै देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रारम्भिक जानकारीअनुसार ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको बताइएको छ ।
घटनापछि जापान, अमेरिका र दक्षिण कोरिया मिलेर अवस्थाको विश्लेषण गरिरहेका छन् । क्षेप्यास्त्र प्रक्षेपणको उद्देश्य र सम्भावित जोखिमबारे तीनै देशले संयुक्त रूपमा अध्ययन गरिरहेका छन् । जापान सरकारले प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा आपतकालीन बैठक बोलाएर सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
यता दक्षिण कोरियाले पनि निगरानी बढाएको छ र अमेरिका तथा जापानसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । सञ्चार माध्यमका अनुसार यस वर्ष उत्तर कोरियाले गरेको यो सातौं ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हो भने अप्रिल महिनामै चौथो परीक्षण हो ।
यो कदम संयुक्त राष्ट्र सुरक्षा परिषद्का नियमहरूको उल्लंघन मानिन्छ । यद्यपि उत्तर कोरियाले यी प्रतिबन्ध अस्वीकार गर्दै आत्मरक्षाका लागि यस्तो कदम आवश्यक रहेको बताउँदै आएको छ । उत्तर कोरियाका नेता किम जोंग उनले देशको सुरक्षा सुदृढ गर्न परमाणु र क्षेप्यास्त्र क्षमता निरन्तर विस्तार गरिने बताउँदै आएका छन् ।
यसैबीच अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पनि चेतावनी दिँदै उत्तर कोरियाले आफ्नो परमाणु क्षमता तीव्र रूपमा बढाइरहेको र युरेनियम संवर्धनका नयाँ संरचना तयार गरेको हुन सक्ने जनाएको छ ।









