काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालको कुटनीतिक ज्ञान नभएको भन्दै आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले भारत-पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानी सेनाको टोलीलाई नेपाल बोलाएको भन्दै आलोचना गरेका हुन् ।
उनले नेपाल के पाकिस्तानको एलाई (गठबन्धन) मा जान खोजेको हो भनेर प्रश्न समेत गरेका छन् । भारतसँग नेपालको खुला सिमाना भएकोले नेपालमा कुनै आतंकवादी गतिविधि नहोस भनेर सचेत हुनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा अलिकतिपनि ज्ञान नभएको भन्दै परराष्ट्रमन्त्री डा. आरजु राणाको क्षमतामाथि प्रश्न उठाए ।
उनले भने,‘कतार एयरवेजबाट ११ जना पाकिस्तानी सेनाहरु जल, थल र वायु सेनाका नेपाल बोलाएको छ, के यो उपयुक्त बेला हो ? के हामी पाकिस्तानको एलाई बन्न खोजेको हो ? यसले हाम्रो छिमेकीसँग के असर गर्छ ? सरकारले यसको गम्भीरताको कहिल्यैपनि मापन गरेन । सरकार मात्र ठूला देशलाई जिस्काउने काम गर्छ, आफ्नो नागरिकलाई दुःखी बनाउने काम गर्छ ।’
उनले अहिलेको सरकार गठन भएदेखि नै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत बताए । अहिलेको सरकारले भारतलाई जिस्काउने काम गरेको टिप्पणी गदै पाकिस्तानका तीनवटै विंगका सेनालाई नेपाल बोलाएकोमा प्रश्न उठाएका छन् ।









