काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र १० गते मंगलबारदेखि १५ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १४औं संस्करण “नाडा अटो शो २०१९” आयोजना गरिदै छ ।
यसै सन्दर्भमा नाडा नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालका सचिव एवं प्रवक्ता अनुप कुमार बरालले नाडा अटो शोको यस बर्षको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन् ।
काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीले यस वष कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगटेर अटो शो आयोजना गर्न लागिएको बरालले बताए ।
खरीबोटसँग कुराकानी गर्दै प्रवक्ता बरालले नाडा अटो शो अहिलेसम्म १४औ पटक हुन लागेको बताउदै ठुलो स्केलमा आयोजना हुन लागेको बताए । अब अटो शोमा आउने उपभोक्ताको अपेक्षा अनुसार नै सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको सहभागिता हुन लागेको बताए ।
प्रवक्ता बरालले भने, 'व्यापार र प्रमोशनका साथै यो अटो शो इन्जिनियर अध्ययन गर्ने र यस क्षेत्रमा अध्ययन गर्नेहरुका लागि यो सहि अवसर हुने विश्वास हामीले लिएका छन् । विश्वमै नाम चलेका ब्रान्डहरु एकै ठाउमा उपलब्ध गराउने प्लेटफर्म नाडा अटो शो बनेको छ ।'
बरालका अनुसारअटो शोमा ठूला तथा साना गरि करिव १६० वटा स्टल र ब्लकहरु रहने छन् । यस अटो शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने बराल बताउछन् ।
त्यस्तै प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याटरी, १४ वटा पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।
अटो शोमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन गर्ने व्यवस्था गरिएको बरालले जानकारी दिए । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा रहने उनले बताए ।
प्रदर्शनीको लागि आवश्यक स्थानको अभावमा उपभोक्ता, बजार र ब्रान्डहरुको चाहना आवश्यकता अनुसार प्रदर्शनी आयोजना गर्न नसकेको बताउदै सरकारले यस्ता प्रदर्शनीको लागि उपर्युक्त ठाउ बनाउनु पर्नेमा प्रवक्ता बरालले जोड दिएका छन् । उनले भने, 'बर्षभरी कैयौ प्रदर्शनी हुने गरेका छन्, सबै भृकुटीमण्डपमै गर्नुपर्ने बाध्यता रहेको छ । स्थानकै अभावमा कमर्सियल भेइकलका लागि उपयुक्त स्थान दिन सकिएको छैन । सरकारलाई अनुरोध गरिरहेका छौ । आशा छ सरकारले यस समस्याको छिटै समाधान गर्ने छ ।'
प्रवक्ता बरालले सरकारले अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउछन् । नीति निर्माण गर्नेहरुले काठमाडौँमा जाम देखेर देशमा गाडी धेरै भयो भन्ने गरेको सुनेको बताउदै यस्तो दृष्टिकोणले सहि बाटोमा जान नसकिने उनको धारणा रहेको छ । अहिले पनि देशको कुल जनसंख्याको ८.४३ प्रतिशतले मात्र मोटरसाइकल चढ्ने गरेको र केवल कुल जनसंख्याको ०.८४ प्रतिशतले मात्र कार चढ्ने गरेको अवस्थामा कसरी गाडी धेरै भयो भन्दै सरकारलाई प्रश्न गरे ।
बैंकले अहिले ५० प्रतिशत मात्र फाइनान्स गर्ने हुनाले पनि यस क्षेत्रलाई असर गरेको उनले बताए । अटोमोबाइल क्षेत्रमा फाइनान्सको समस्या रहेको बताउदै करिब चार बर्षदेखी लिक्वीडिटी क्रंच भएपनि सरोकारवाला निकायहरुले वास्ता नगरेको गुनासो गरे । अटोमोबाइल भनेको मोबिलिटी भएको र मोबिलिटी सिधै विकाससँग जोडिएको बताउदै बरालले मोबिलिटी बिना विकास, समृद्धि सम्भव नभएको बताउदै सरकारले यस क्षेत्रलाई हेर्ने धारणा परिवर्तन गर्नुपर्ने बताए ।
पछिल्ला बर्षहरुमा अटोमोबाइल राजधानी केन्द्रित मात्र नरहेको भन्दै बजार विस्तारै काठमाडौँ बाहिर बढेको बताए । नाडाले पनि यसको गहिरो अध्ययन गरिरहेको बताउदै बरालले काठमाडौँ बाहिर समेत यस्ता प्रदर्शनी गरेर धेरै उपभोक्तासम्म पुग्ने प्रयास गर्ने तयारी भइरहेको बताए ।
नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी हुन बरालले अपिल गरेका छन् ।
प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टा छुट्टै स्टलहरु रहने समेत प्रवक्ता बरालले जानकारी दिए ।
साथै आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने उनले बताए ।
६ दिन सम्म चल्ने उक्त नाडा अटो शोमा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।









