काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।
आजको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल गर्ने भएको छ ।
बैठक आज अपराहन्न १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्नेछ।
बैठकको मुख्य कार्यसूची मेलमिलापसम्बन्धी विधेयकमाथि सम्बन्धित सरोकारवालाको धारणा लिने रहेको छ । छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मेलमिलाप परिषद्का अध्यक्ष तथा सचिव, काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका न्यायिक समिति संयोजक सहभागी हुनेछन्।
त्यस्तै, नेपाल बार एसोसिएसन, नगरपालिका महासंघ, गाउँपालिका महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका प्रतिनिधिलाई पनि छलफलमा आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।









