• २०८३ कार्तिक १९ बिहीबार

तिहारमा भाइ मसलाको आयात र मूल्य दुवै बढ्यो

तिहारमा भाइ मसलाको आयात र मूल्य दुवै बढ्यो

काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा सुक्खा फलफूलको आयात र मूल्य दुवै बढेको छ। माग बढे पनि आपूर्ति प्रभावित हुँदा काजु, बदाम, पिस्ता, किसमिस र ओखरलगायतका वस्तुको मूल्य बढेको हो ।

कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ताको मूल्य अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँ पुगेको छ। अन्य सुक्खा फलफूलको मूल्य पनि प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म बढेको छ। बजारको अवस्था यस्तै रहे पिस्ताको मूल्य ३ हजार ८०० रुपैयाँसम्म पुग्न सक्ने उनले बताए ।

चौधरीका अनुसार गत भदौमा रसुवामा आएको बाढीबाट ढुवानी प्रभावित हुनु, दसैँका बेला करिब एक साता भन्सार कार्यालय बन्द हुनु र त्यसलगत्तै तिहारको माग बढ्नुले आपूर्तिमा समस्या भएको हो। खरिद लागत र ढुवानी खर्च बढेकाले मूल्य वृद्धि भएको उनको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १७ हजार मेट्रिक टन काजु, बदाम, हेजलनट, पिस्ता, सुपारी र नरिवललगायतका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको १६ हजार मेट्रिक टन आयात भएको थियो ।

यस वर्ष गत वर्षको तुलनामा भाइ मसलाजन्य वस्तुको आयात मूल्य ३७ करोड रुपैयाँ र परिमाण एक हजार मेट्रिक टनले बढेको छ। भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा सुक्खा फलफूल दिने चलन रहेकाले तिहारमा यसको माग उच्च हुने गरेको छ। स्वदेशी उत्पादनले माग धान्न नसक्दा नेपाल भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डलगायतका देशबाट आयातमा निर्भर छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै