• २०८३ कार्तिक १९ बिहीबार

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको शानदार जित

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको शानदार जित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाले शानदार जित निकालेका छन्।

म्यानचेस्टर युनाइटेडले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै रोमालाई ३–२ गोलले पराजित गरेको छ भने बार्सिलोनाले एस्टन भिल्लालाई ३–० गोलले हराएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा रोमाले सुरुवाती १७ मिनेटमै दुई गोलको अग्रता बनाएको थियो । रोमाका लागि माटियास सौलेले ११औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको छ मिनेटपछि डोनीएल मालेनले गोल गर्दै रोमाको अग्रता दोब्बर बनाए । तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । कप्तान ब्रुनो फर्नान्डेसले ५८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।

त्यसपछि माटियस कुन्हाले ८३औँ मिनेटमा बराबरी गोल गरे । उनले त्यसको तीन मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाएका थिए । निर्णायक गोल गरेपछि समर्थकसँग खुसी साट्न दर्शकदीर्घातर्फ पुगेका कुन्हाले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डको सामना गर्नुपरेको थियो । दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको युनाइटेडका लागि यो महत्त्वपूर्ण सफलता बनेको छ ।

यता बार्सिलोनाले घरेलु मैदानमा एस्टन भिल्लामाथि ३–० को सहज जित निकालेको छ । बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे भने लामिन यमालले एक गोल गरे । खेलको सातौँ मिनेटमै यमालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा राफिन्हाले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। उनले ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको लिग चरणमा महत्त्वपूर्ण अंक जोडेको छ। राफिन्हाले पछिल्ला चार च्याम्पियन्स लिग खेलमध्ये तीन खेलमा दुई-दुई गोल गरेका छन् ।

गएराति नै भएका अन्य खेलमा पेरिस सेन्ट जर्मेनले भिल्लारियललाई ६–० गोलले पराजित गरेको छ। इन्टर मिलानले फेयेनोर्डलाई ३–० तथा बायर्न म्युनिखले एट्लेटिको मड्रिडलाई २–० गोलले हराएको छ । त्यस्तै, गालातासारेले स्टुटगार्टलाई २–०, स्पोर्टिङले शाख्तर डोनेत्स्कलाई १–० तथा एलएएसकेले स्लोभान ब्राटिस्लाभालाई ४–० गोलले पराजित गरेका छन्। बोडो/ग्लिम्ट र लिलबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै