• २०८३ कार्तिक १७ मंगलबार

उमा भुजेलको पार्टी नेपाली कम्युनिष्ट पार्टीमा विलय

उमा भुजेलको पार्टी नेपाली कम्युनिष्ट पार्टीमा विलय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

दुवै पार्टीबीच मंगलबार भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र चुनाव चिह्न पाँचकुने तारा हुने भएको छ ।

सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न कम्युनिष्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ ।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने सहमति भएको छ । पार्टीको तत्कालीन कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने विषय समेटिएको छ ।

सहमति अनुसार आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ । परिस्थिति अनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलाई आन्दोलनका मोर्चाका रूपमा अघि बढाइने उल्लेख छ ।

पार्टीको एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा समायोजन गरिने सहमति भएको छ ।

त्यस्तै, सबै तहका पार्टी समिति र जनसङ्गठनको एकता तथा समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने उल्लेख छ । पार्टी समितिहरू विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन हुनेछन् ।

सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतको समीक्षाका विषयमा निरन्तर छलफल गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति पनि भएको छ ।

सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै