• २०८३ भदौ १९ शुक्रबार

विपद्का बेला बीभत्स दृश्य र अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

विपद्का बेला बीभत्स दृश्य र अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा बीभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री तथा सनसनीपूर्ण प्रस्तुति नगर्न पत्रकार र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ ।

काउन्सिलले जारी गरेको ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ मा सबैभन्दा पहिले समाचार दिनेभन्दा सही, पुष्टि भएको र जीवनोपयोगी सूचना दिन प्राथमिकता दिन आग्रह गरिएको छ। मृत्यु, घाइते, बेपत्ता, क्षति र उद्धारसम्बन्धी सूचना विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र प्रकाशन गर्न भनिएको छ ।

क्षतविक्षत शव, अत्यधिक रक्ताम्मे दृश्य, मृतकको अनुहार, गम्भीर घाइतेको पीडादायी दृश्य तथा शोकमा रहेका परिवार र बालबालिकाका निजी दृश्य सामान्यतः प्रकाशन तथा प्रसारण नगर्न निर्देशन दिइएको छ । यस्ता दृश्य अत्यावश्यक सार्वजनिक हितका कारण प्रयोग गर्नुपरे पहिचान लुकाउन र पूर्वसूचना दिनुपर्नेछ ।

सामाजिक सञ्जालबाट प्राप्त सामग्री पुनःप्रकाशन गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाण गरी पाँच पक्ष पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ । पुराना वा अन्य स्थानका दृश्य, सम्पादित सामग्री, कृत्रिम बुद्धिमत्ताबाट बनाइएका दृश्य तथा अपुष्ट मृत्यु र बेपत्ताको विवरणमा विशेष सावधानी अपनाउन भनिएको छ । काउन्सिलले विपद्का समाचारमा सुरक्षित स्थान, मौसम तथा पूर्वचेतावनी, अस्पताल, राहत केन्द्र, आपत्कालीन सम्पर्क, उद्धार र पुनःस्थापनासम्बन्धी उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको छ । गलत सूचना प्रकाशित भए तत्काल सच्याएर सही तथ्य स्पष्ट गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

समाचार संकलनका क्रममा उद्धार, उपचार, एम्बुलेन्स तथा राहत कार्यमा अवरोध नगर्न र पत्रकारले अनावश्यक जोखिम नलिन काउन्सिलले आग्रह गरेको छ । निर्देशिकाविपरीत सामग्री प्रकाशन भए पत्रकार आचारसंहिता तथा प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सकिने काउन्सिलले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै