काठमाडौँ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार कार्य नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राविधिक तथा आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले जारी राखेको छ ।
नेपाली सेनाले दिएको पछिल्लो अपडेट अनुसार माथिल्लो त्रिशूली–३ ए मा नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएको छ। उद्धारका क्रममा एक जनाको शवसमेत निकालिएको र थप खोजी जारी रहेको सेनाले जनाएको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ बी मा नेपाली सेनाका ८९ तथा गैरसैनिकसहितको टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्रमा पुग्न बाटो बनाउने काम गरिरहेको छ। सुरुङतर्फबाट समेत पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ।
त्यसैगरी, लाङटाङ जलविद्युत् आयोजना को सुरुङभित्र प्रवेश गरेको संयुक्त टोलीले दुई वटा शव फेला पारेको छ। थप खोज तथा उद्धार कार्य जारी रहेको छ।
त्यस्तै, चिलिमे जलविद्युत् आयोजना मा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित टोलीले जेनेरेटर र लेदो तान्ने पम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाइरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा पनि नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले डुंगा र रबरको डुंगाको प्रयोग गरी खोजी गरिरहेको छ भने सुरुङभित्र जमेको पानी निकाल्ने काम भइरहेको छ ।
यसैबीच देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीले आधार तयार गरिरहेको छ । गजुरीमा रहेको अस्थायी पुलका केही सामग्री त्रिशूली पुर्याइसकिएको र थप सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ ।









