• २०८३ असार १० बुधबार

'हामी मिल्यौं र इतिहास रच्यौं'

'हामी मिल्यौं र इतिहास रच्यौं'

काठमाडौँ । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशनको बन्द सत्रमा पेश गरको राजनीतिक प्रतिवेदनमा मिलेर इतिहास रचेको उल्लेख गरेका छन् ।

लामिछानेले अवज्ञा र विद्रोहको प्रतीक बनेका बालेन्द्र शाहसँगको सहकार्यले ठूलो तरंग ल्याएको उल्लेख गर्दै राजनीतिका नाममा सानो दायराभित्र सीमित 'दोकान' चलाउने कि फराकिलो दृष्टिकोण, समावेशी व्यवहार र दीर्घकालीन सोचसहित मुलुककै नेतृत्वका लागि अग्रसर हुने भन्ने मोडमा आफुहरुले दोस्रो विकल्प रोजेको उल्लेख गरेका छन् ।

मिलेर इतिहास रचेको उल्लेख गर्दै आफ्नो प्रतिवेदनमा लामिछानेले भनेका छन्- 

राजनीतिका नाममा सानो दायराभित्र सीमित 'दोकान' चलाउने कि फराकिलो दृष्टिकोण, समावेशी व्यवहार र दीर्घकालीन सोचसहित मुलुककै नेतृत्वका लागि अग्रसर हुने भन्ने मोडमा हामीले दोस्रो विकल्प रोज्यौं। त्यतिखेर म जेलमा थिएँ तर नेपालमा परिवर्तन चाहने सबै वैकल्पिक राजनीतिक शक्तिहरूसँग संवादमै थिएँ। हामी विभाजित रह्यौं भने पुराना स्थापित शक्तिहरूले पुनः भ्रम, फन्डा र संरचनात्मक अवरोध खडा गर्छन् र चुनाव पनि हुन दिन्नन् भन्ने मेरो निष्कर्ष थियो।

म जेलबाट बाहिर आएपछि विभिन्न वैकल्पिक धारहरू, सुशासन, समानता र परिवर्तनका पक्षधरहरूलाई एकै ठाउँमा ल्याउने पहल अझ तेज भयो । ऐतिहासिक लिगेसी भएका विवेकशील आन्दोलनका साथीहरु, वैकल्पिक राजनीतिक आन्दोलनसँग जोडिएका समूहहरु, स्थानीय सुशासनमा सक्रिय नेतृत्वहरू, सामाजिक न्यायका आन्दोलनहरूका साथीहरु, थरुहट आन्दोलनका प्रतिनिधिहरू, दलित आन्दोलनका साथीहरू सबैसँग साझा राजनीतिक भविष्यका लागि विस्तृत संवाद सुरु भयो।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकता र समायोजनको मार्गमा अघि बढाइयो जसले पार्टीको दायरा मात्र होइन, यसको वैचारिक गहिराइ र सामाजिक आधारसमेत विस्तार गर्यो।

वैकल्पिक राजनीतिक आन्दोलनका अग्रज उज्जवल थापाको अगुवाईमा सुरु भएको वैकल्पिक राजनीतिक आन्दोलनको विरासत रास्वपाको पुँजी भयो। उज्यालो नेपाल पार्टीको एउटा समूह, नयाँ शक्तिका संस्थापक केही नेता, नागरिक उन्मुक्तिको प्रभावशाली समूह, हाम्रो पार्टी नेपाल तथा थरुहट थारुवान आन्दोलनका विभिन्न हिस्साको समायोजनले पनि रास्वपाको आकार बढायो।

अवज्ञा र विद्रोहको प्रतीक बन्नुभएका, कुशासनसँग एक्लै लड्ने साहस देखाउनु भएका, काठमाडौं महानगरको नेतृत्वमार्फत विकासमा निर्णायक भूमिका निर्वाह गर्नुभएका, जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीको प्रस्ताव समेत अस्वीकार गरेर नैतिक मानक कायम गर्नुभएका बालेन शाह र उहाँसँग आबद्ध स्वतन्त्र साथीहरुसँगको समायोजनले ठूलो तरंग ल्यायो।

विभिन्न वैकल्पिक धार, आन्दोलन र नेतृत्वहरूको यो समायोजन केवल राजनीतिक गठबन्धन थिएन, बरु सुशासनको साझा दृष्टि, भ्रष्टाचारविरुद्धको साझा संघर्ष, युवा पुस्ताको प्रतिनिधित्व र प्रणालीगत परिवर्तनको साझा प्रतिबद्धता थियो।

यस एकीकृत प्रयासको परिणामस्वरूप भएको निर्वाचनमा जनताले अभूतपूर्व समर्थन जनाउँदै करिब दुई तिहाइको ऐतिहासिक जनादेश प्रदान गरे। विश्व राजनीतिमा पनि चार वर्षभन्दा कम समयमै कुनै राजनीतिक शक्तिले यस्तो स्तरको सफलता हासिल गरेको उदाहरण दुर्लभ छ। यो केवल चुनावी विजय होइन, यो जनताको परिवर्तनप्रतिको विश्वास, पुरानो प्रणालीप्रतिको अस्वीकार र नयाँ राजनीतिक युगको घोषणा हो। हामी अलग-अलग हुन्थ्यौं भने यो सम्भव हुने थिएन। अब यो जनादेशलाई केवल राजनीतिक विजयका रूपमा होइन– बरु सुशासन, पारदर्शिता र प्रणालीगत सुधारको वास्तविक शासन अभ्यासमा रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेदारी हामीसँग छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै