• २०८३ असार ८ सोमबार

विश्वकपमा इरान अपराजित, बेल्जियमलाई बराबरीमा रोक्न सफल

विश्वकपमा इरान अपराजित, बेल्जियमलाई बराबरीमा रोक्न सफल

काठमाडौँ । विश्व फुटबलमा बेल्जियमले इरानसँग गोलरहित बराबरी खेलेपछि उसको विश्वकप यात्रा दबाबमा परेको छ ।

लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको बेल्जियम दोस्रो पटक लगातार समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ ।

खेलको सुरुआती पाँच मिनेटमै केभिन डी ब्रुनेको आकर्षक क्रसमा रोमेलु लुकाकुले सही सम्पर्क गर्न सकेको भए खेलको नतिजा फरक हुन सक्थ्यो । देशका सर्वाधिक गोलकर्ता तथा नेपोलीका फरवार्ड लुकाकुले सन् २०२५ को जुनपछि पहिलो पटक सुरुआती टोलीमा स्थान पाएका थिए । बेल्जियमलाई आवश्यक जित दिलाउने जिम्मेवारी उनकै काँधमा थियो । तर उनी अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन् ।

बरु इरानका गोलरक्षक अलिरेजा बेइरानभान्दले लगातार उत्कृष्ट बचाउ गर्दै बेल्जियमका प्रयास विफल बनाइदिए । त्यसमाथि युवा रक्षक नाथन एन्गोयले खेलको ६७औं मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम थप समस्यामा परेको थियो ।

यस नतिजासँगै सन् २०१८ को विश्वकप सेमिफाइनलिस्ट बेल्जियम समूह ‘जी’ बाट अघि बढ्न असफल हुने खतरा बढेको छ । अब अन्तिम समूह चरणको खेलमा न्युजिल्यान्डलाई पराजित गरे बेल्जियम अन्तिम ३२ मा पुग्नेछ । तर अन्य कुनै नतिजा आएमा उसको यात्रा अनिश्चित बन्नेछ ।

यता, प्रत्येक खेलअघि एक दिन मात्रै अमेरिका प्रवेश गर्न अनुमति पाएको इरानका लागि यो बराबरी ऐतिहासिक बनेको छ । यससँगै इरानले पहिलो पटक विश्वकपका सुरुआती दुई खेलमा हार बेहोर्नबाट जोगिन सफल भएको छ ।

अब बेल्जियमले अर्को खेल जुन २७ मा न्यूजिल्याण्डसँग र इरानले सोहि दिन इजिप्टसँग समुह चरणको अन्तिम खेलमा खेल्ने तालिका छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै