• २०८३ असार ७ आइतबार

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुदै

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरु हुदैछ ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन पुगेका छन् । उद्घाटन समारोहलाई प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ले पनि सम्बोधन गर्ने बताइएको छ । 

महाधिवेशनमा प्रतिनिधिको संख्या ४ हजारभन्दा बढी हुने बताइएको छ । विधानतः सभापतिले मनोनयन गर्ने संख्या २०० रहेको छ । महाधिवेशनमा कोशी प्रदेशबाट प्रतिनिधिको संख्या ५२० रहेको छ। मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताइएको छ ।

महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित ५ जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ । 

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् । 

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ । 

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

कुन दलबाट को जादैछन्:

महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन नेपाली काँग्रेसका सभापति गगन थापा उपस्थित हुन सक्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।  उनले भने- 'सम्भवत नेपाली काँग्रेसबाट सभापति नै आउने सम्भावना छ । शत प्रतिशत कन्फर्म भएको छैन तर उहाँ आउने सम्भावना रहेको जानकारी दिइएको छ ।'  त्यस्तै नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट बर्षामान पुन र राप्रपाबाट राजेन्द्र लिङदेन सहभागी हुदैछन् । बुर्लाकोटीले जसपा नेपाल, जनमत पार्टी र डा. बाबुराम भट्टराईलाई पनि उद्घाटन समारोहको निमन्त्रणा गरेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै