काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत कार्यालय सहयोगी रामकुमार बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानबाट बोहराले नेपाल प्रज्ञा प्रतिष्ठानमा २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी राजपत्र अनंकित तृतीय श्रेणी सरहको स्थायी रंगमञ्च सहायक पद प्राप्त गर्न झुट्टा शैक्षिक विवरण पेस गरेको खुलेको छ ।
अनुसन्धानका क्रममा उनले तरुण माध्यमिक विद्यालय, बालाजुको कक्षा १० को अङ्कपत्र, स्थानान्तरण प्रमाणपत्रलगायत शैक्षिक योग्यतासम्बन्धी नक्कली कागजात पेस गरी उक्त पद हासिल गरेको पाइएको छ ।
नक्कली प्रमाणपत्रका आधारमा रंगमञ्च सहायक पदमा कार्यरत रहँदै उनले सरकारी ओहदा, तलब, भत्ता तथा अन्य सुविधा समेत लिइरहेको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ ।
उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहर गर्दै सोही ऐनबमोजिम कैद र जरिवाना सजायको मागसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।









