काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ ।
बुधबार बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको आयोग स्रोतले जानकारी दिएको छ ।
आरजु हाल उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराएकी छन् । उनले इमेलमार्फत आयोगलाई जानकारी गराउदै आफूले अनुसन्धानमा सहयोग गर्ने तर उपचार गरिरहेकाले तत्काल नेपाल फर्किन नसक्ने जानकारी गराएको आयोग स्रोतले जानकारी इद्येको छ ।
अख्तियारले राहदानी खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, जर्मन कम्पनी मुह्रबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । अख्तियारले यस प्रकरणमा ठेक्का प्रक्रियासँग सम्बन्धित सरकारी कर्मचारी तथा कम्पनीका प्रतिनिधिहरुमाथि अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा यस प्रकरणमा ८ अर्ब अनियमितता भएको दाबि गरिएको छ ।









