काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिने भएका छन् ।
प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत रक्षा मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने भएका छन् ।
प्रतिनिधिसभाको कार्यसूचीअनुसार रक्षा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा प्रधानमन्त्री शाहले दिनुपर्नेमा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने कार्यसूची थियो।
तर ती सबै विषयमा पनि अर्थमन्त्री वाग्लेले नै संसद्मा सरकारको तर्फबाट जवाफ दिने आजको कार्यसूचीमा रहेको छ ।









