• २०८३ असार ४ बिहीबार

चीन भ्रमणबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

चीन भ्रमणबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । 

जेठ ३१ गतेदेखि असार ३ गतेसम्म भएको भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता, लगानी प्रवर्द्धन, आर्थिक कूटनीति, विज्ञान–प्रविधि तथा जनस्तरको सम्बन्ध विस्तारमा केन्द्रित विभिन्न कार्यक्रममा सहभागिता जनाएको बताएका छन् ।

बेइजिङमा उनले चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्धका सबै पक्षमा गहन छलफल भएको र मित्रता, सद्भावना तथा सहयोगमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सहमति भएको परराष्ट्र मन्त्रालयले जनाइको छ ।

नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको छ । त्यस्तै, चीनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो समर्थन पुनः व्यक्त गर्दै सुशासन र आर्थिक विकासका प्राथमिकतामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी दुवै पक्षबीच पूर्वाधार, सीमापार सम्पर्क विस्तार, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटल प्रणाली, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ । यसअघि भएका सहमति र परियोजनालाई छिटो कार्यान्वयन गर्ने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा पनि जोड दिइएको छ ।

भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने, प्राथमिकताका क्षेत्रमा सहकार्य बढाउने र राजनीतिक दलहरूबीच सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

परराष्ट्रमन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा समेत सहभागिता जनाएका थिए । सम्मेलनमा चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्तासँग भेटघाट गर्दै उनले नेपालमा लगानी गर्न आह्वान गरेका थिए। नेपालमा रहेको आर्थिक सम्भावना, युवा जनशक्ति र लगानीमैत्री वातावरणबारे जानकारी गराउँदै आर्थिक समृद्धिको नयाँ अध्याय निर्माणमा साझेदारी गर्न आग्रह गरेका थिए ।

भ्रमणका क्रममा उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका थिए। सुशासन, आर्थिक विकास र समृद्धिलाई संस्थागत गर्ने सरकारको प्राथमिकताबारे जानकारी गराउँदै राष्ट्र निर्माणको अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए । त्यस्तै, बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूलाई नेपाल–चीन सम्बन्धलाई थप प्रभावकारी बनाउँदै आर्थिक तथा विकास कूटनीतिलाई सशक्त रूपमा अघि बढाउन र चीनमा रहेका नेपालीलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

उनले नेपाली, चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग पनि भेट गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, सरकारका प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सहकार्यबारे धारणा राखेका थिए । भ्रमणका क्रममा उनले राष्ट्रिय विभूति अरनिकोले निर्माण गरेको बेइजिङस्थित श्वेत स्तूपको अवलोकन पनि गरेका थिए । उक्त सम्पदालाई नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा उल्लेख गरिएको छ ।

यसैगरी, उनले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बती पठार अनुसन्धान संस्थान तथा बेइजिङस्थित उच्च प्रविधि र राष्ट्रिय नवप्रवर्तन केन्द्रको समेत भ्रमण गरेका थिए। विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । परराष्ट्रमन्त्री खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा विकास कूटनीतिलाई प्रवर्द्धन गर्ने नेपाल सरकारको उद्देश्य पूरा गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै