• २०८३ असार ३ बुधबार

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डबाट १०९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडी रोकी जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका आठ वटा पोकाभित्र १०९ किलो गाँजा फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी र सोही स्थानका २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको छ ।

प्रहरीले बरामद भएको गाँजा, बोलेरो पिकअप गाडी तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै