काठमाडौँ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने गरे पनि यस वर्ष हालसम्म मनसुन भित्रिएको छैन ।
जल तथा मौसम विज्ञान विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन अझै केही दिन ढिलो हुन सक्ने जनाएको छ । विभागका अनुसार हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस वर्ष प्रशान्त महासागर क्षेत्रमा एलनिनो प्रणाली विकसित भइसकेको र अझै बलियो बन्दै गएको विभागले जनाएको छ । यसको प्रभावका कारण दक्षिण एसियासहित नेपालमा मनसुन कमजोर हुने तथा मनसुन प्रवेशमा ढिलाइ हुन सक्ने सम्भावना रहेको छ ।
विगतका वर्षहरूमा पनि एलनिनोकै प्रभावका कारण नेपालमा मनसुन ढिलो गरी प्रवेश गरेको थियो । सन् १९७२ मा जुन १८, १९८२ मा जुन २७, १९८३ मा जुन २४, १९८७ मा जुन १४, १९९२ मा जुन २१, १९९७ मा जुन १४, २००२ मा जुन १५, २००९ मा जुन २३, २०१६ मा जुन १५, २०१९ मा जुन २० र २०२३ मा जुन १४ मा मनसुन प्रवेश भएको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गरिने जनाएको छ ।
विभागले सबैलाई आधिकारिक मौसमी सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ ।









