धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढीमा टेम्पो भीरबाट खसालेको घटनाको छानबिन समिति गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, धनगढीले मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाएको छ ।
जेठ २९ गते कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्र, गाइमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट पल्टिएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य स्रोतमा आएका समाचार, फोटो र भिडियोपछि छानबिन अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
छानबिन समितिको संयोजकमा वन निर्देशनालय धनगढीका प्रदेश वन निर्देशक हेमराज विष्ट रहेका छन् । समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय धनगढीका कानून अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।
मन्त्रालयले घटनाबारे उठेका प्रश्नको निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयले घटनाबारे ७ दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।









