• २०८३ जेठ ३१ आइतबार

उमेर घटाउने प्रविधिको पहिलो मानव परीक्षण शुरु

उमेर घटाउने प्रविधिको पहिलो मानव परीक्षण शुरु

काठमाडौँ । चिकित्सा विज्ञानको सबैभन्दा महत्वाकांक्षी लक्ष्यमध्ये एक मानिएको बुढ्यौलीको प्रभाव उल्ट्याउने उपचार प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ । पहिलो पटक उमेर बढ्दै जाँदा शरीरमा पर्ने असरलाई कम गर्ने उद्देश्यले विकसित गरिएको विशेष सुई एक व्यक्तिमा प्रयोग गरिएको छ ।

अमेरिकाको बोस्टनस्थित जैविक प्रविधि कम्पनी ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो बिरामीलाई कोशिका पुनःकार्यक्रमीकरण प्रविधिमा आधारित सुई दिइएको जनाएको छ । परीक्षणअन्तर्गत कालो मोतियाबाट पीडित एक बिरामीको एउटा आँखामा उक्त सुई प्रयोग गरिएको हो ।

यस परीक्षणको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः सक्रिय र युवा अवस्थाजस्तै बनाउनु रहेको छ । वैज्ञानिकहरूले आगामी ६ महिनासम्म यसको प्रभाव तथा सम्भावित दुष्प्रभावबारे निगरानी गर्नेछन् । चिकित्सक र अनुसन्धानकर्ताहरूले अब बिरामीको स्वास्थ्य अवस्थामाथि निरन्तर सूक्ष्म अध्ययन गर्नेछन्, जसबाट यो प्रविधि मानव शरीरका लागि सुरक्षित छ वा छैन भन्ने पुष्टि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उपचार प्रक्रियाअन्तर्गत सबैभन्दा पहिले बिरामीको आँखामा एकपटक मात्र दिइने जीन उपचारसम्बन्धी सुई लगाइएको छ। त्यसपछि केही सातासम्म विशेष प्रकारका जीवाणुनाशक औषधिको सेवन गराइनेछ । यी औषधिले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जीनलाई सक्रिय बनाउने काम गर्नेछन् । ती जीन सक्रिय भएपछि कोशिकाहरूलाई पुनः युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा यो प्रविधिले दृष्टि क्षमतामा उल्लेखनीय सुधार ल्याएको थियो ।

मानव परीक्षणका लागि आँखालाई छनोट गर्नुको कारण शरीरका अन्य अङ्गको तुलनामा आँखालाई अलग र सुरक्षित रूपमा अध्ययन गर्न सकिने भएकाले हो। यसले सम्भावित दुष्प्रभावको निगरानी गर्न पनि सहज बनाउँछ । लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलफलिनले यो उपलब्धि केवल आफ्नो कम्पनी वा बुढ्यौलीसम्बन्धी जीवविज्ञानका लागि मात्र नभई सम्पूर्ण चिकित्सा विज्ञानका लागि सम्भावित रूपमा ऐतिहासिक र परिवर्तनकारी क्षण भएको बताएका छन् ।

यदि यो क्लिनिकल परीक्षण सफल भयो भने बुढ्यौलीसम्बन्धी उपचार क्षेत्रमा नयाँ युगको सुरुआत हुन सक्ने विश्वास गरिएको छ । यसको दीर्घकालीन लक्ष्य शरीरका सबै कोशिकालाई पुनः सक्रिय र युवा बनाउनुका साथै उमेर बढ्दै जाँदा वंशाणु सामग्रीको कार्यप्रणालीमा हुने परिवर्तनलाई सुधार गर्नु रहेको छ ।

यस प्रविधिमा विश्वका ठूला लगानीकर्ताहरूले समेत चासो देखाएका छन्। अमेजनका संस्थापक जेफ बेजोस तथा ओपनएआईका प्रमुख स्याम अल्टम्यानसहित विभिन्न लगानीकर्ताले यस क्षेत्रमा लगानी गरेका छन् । साथै विश्वका प्रमुख औषधि उत्पादक कम्पनीहरूले पनि यस प्रविधिमा लगानी विस्तार गरिरहेका छन् ।

यसअघि मुसा र बाँदरसम्म सीमित रहेको अनुसन्धान अब मानव परीक्षणको चरणमा प्रवेश गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै