• २०८३ जेठ २४ आइतबार

इजरायलले अमेरिकी अधिकारीहरुको जासुसी गरेको आरोप, मतभेद बढ्दै

इजरायलले अमेरिकी अधिकारीहरुको जासुसी गरेको आरोप, मतभेद बढ्दै

काठमाडौँ । अमेरिका र इजराइलबीच इरानलाई लिएर मतभेद बढ्दै गएको छ । यहीबीच अमेरिकी रक्षा मन्त्रालयभित्र इजराइलले अमेरिकी अधिकारी तथा ट्रम्प प्रशासनको आन्तरिक जानकारी संकलन गर्न जासुसी प्रयास गरिरहेको हुनसक्ने भन्दै चिन्ता बढेको छ ।

एनबीसी समाचारको रिपोर्ट अनुसार दुई वर्तमान र एक पूर्व अमेरिकी अधिकारीले अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको रक्षा गुप्तचर निकायले इजराइलसँग सम्बन्धित प्रतिगुप्तचर जोखिम स्तर हालै बढाएर ‘अत्यन्त गम्भीर’ बनाएको छ । यो उक्त निकायको सबैभन्दा उच्च सतर्कता स्तर मानिन्छ ।

अमेरिका र इजराइल जस्ता निकट सहयोगीबीच यस्तो निर्णय हुनु असाधारण मानिएको छ । तर इजराइलले भने यी आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इजराइली दूतावासले आफूहरूले अमेरिकी अधिकारीहरूको जासुसी नगर्ने र आफ्ना गुप्तचर निकायले सहयोगीभन्दा पनि शत्रु पक्षमाथि निगरानी केन्द्रित गर्ने स्पष्ट पारेको छ ।

जोखिम स्तर बढाइएपछि इजराइल जाने वा त्यहाँका अधिकारीसँग प्रत्यक्ष सम्पर्कमा रहने अमेरिकी अधिकारीहरू बढी सतर्क हुनुपर्ने अवस्था आएको छ । यद्यपि दुवै देशबीच गुप्त जानकारी आदानप्रदान गर्ने सहकार्य भने यथावत् रहने बताइएको छ । एक अमेरिकी अधिकारीका अनुसार इजराइल भ्रमणका क्रममा उच्च पदस्थ अधिकारीहरू विशेष सावधानी अपनाउने गर्छन् । त्यहाँ रहेका अमेरिकी अधिकारीहरूले टेलिफोन र ल्यापटपको प्रयोग सीमित गर्ने, प्रयोग गरेपछि फालिने प्रकारका टेलिफोन र सुरक्षित कम्प्युटर प्रयोग गर्ने गरेका छन् ।

कहिलेकाहीँ उनीहरू होटलको कोठा वा निगरानीको जोखिम हुनसक्ने स्थानमा संवेदनशील विषयमा छलफल नगर्ने अभ्यास पनि गर्छन् । इजराइली गुप्तचर निकायलाई जानकारी संकलनमा निकै सक्रिय मानिने भएकाले यस्तो सतर्कता अपनाइएको बताइन्छ । अधिकारीहरूले यो निर्णय कुनै एक ठूलो घटनाका कारण नभई विभिन्न घटना र मूल्याङ्कनको आधारमा गरिएको पनि स्पष्ट पारेका छन् ।

यसैबीच ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच इरान नीतिलाई लिएर मतभेद बढिरहेको छ । अप्रिलमा युद्धविरामपछि ट्रम्प इरानसँग ठूलो सम्झौताको प्रयासमा छन् भने नेतान्याहू इरानले कुनै सम्झौता पालना नगर्ने विश्वासमा रहेका छन् । लेबनानमा हिज्बुल्लाहविरुद्धको सैन्य कारबाहीलाई लिएर पनि दुवै देशबीच असहमति देखिएको छ ।

रिपोर्टअनुसार हालै ट्रम्प र नेतान्याहूबीच टेलिफोनमा कडा बहस भएको थियो । पछि ट्रम्पले आफूले इजराइली प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरेको स्वीकार गरेका छन् । यस घटनाले मध्यपूर्व रणनीतिलाई लिएर दुवै नेताबीच गम्भीर मतभेद रहेको अड्कललाई अझ बलियो बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै