• २०८३ जेठ २३ शनिबार

पुटिनले प्रत्यक्ष वार्ता अस्वीकार गरेपछि जेलेन्स्की रिसाए, रुसको सेन्ट पिटर्सबर्गमा भिषण ड्रोन आक्रमण

पुटिनले प्रत्यक्ष वार्ता अस्वीकार गरेपछि जेलेन्स्की रिसाए, रुसको सेन्ट पिटर्सबर्गमा भिषण ड्रोन आक्रमण

काठमाडौँ । रूसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गका बासिन्दालाई शनिबार बिहान ठूलो मात्रामा भएको युक्रेनी ड्रोन आक्रमणपछि घरभित्रै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अधिकारीहरूले यो घटनालाई युक्रेनले रूसभित्र लामो दूरीसम्म आक्रमण गर्न बढाएको क्षमतासँग जोडेर हेरेका छन् ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभले नागरिकलाई बाहिर ननिस्कन आग्रह गर्दै मोबाइल इन्टरनेट सेवामा अवरोध आउन सक्ने चेतावनी दिएका छन् । क्षेत्रीय गभर्नर अलेक्जेन्डर ड्रोज्डेन्कोका अनुसार लेनिनग्राद क्षेत्रमा १४१ वटा ड्रोन खसालिएको छ । रूसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले कुल ३७६ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ ।

यी आक्रमणमा मानवीय क्षति भएको कुनै जानकारी आएको छैन । सेन्ट पिटर्सबर्गमाथिको यो नयाँ आक्रमणलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि राजनीतिक र सुरक्षा दुवै हिसाबले झट्का मानिएको छ। रूसी अधिकारीहरूले लामो समयदेखि यो युद्धलाई रूसी जनजीवनमा खासै असर नपर्ने बाहिरी घटनाका रूपमा प्रस्तुत गर्दै आएका थिए ।

यसअघि बुधबार पनि सोही सहरमा रहेको तेल भण्डारण केन्द्रमा आगलागी गराउने र नजिकैको नौसैनिक अड्डालाई निशाना बनाउने ड्रोन आक्रमण भएको थियो । त्यही आक्रमण सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु हुनुभन्दा केही घण्टा अघि भएको थियो, जुन पुटिनको लगानी आकर्षित गर्ने वार्षिक कार्यक्रम हो ।

मञ्चमा बोल्दै पुटिनले हालैका युक्रेनी ड्रोन आक्रमणको जवाफमा रूसले आफ्नो हवाई प्रतिरक्षा प्रणाली थप बलियो बनाउने बताएका छन् । उनका अनुसार यस्ता ड्रोनहरू रूसी भूभागभित्र गहिरो प्रवेश गर्न थालेका छन् ।

युद्ध मोर्चामा ठूलो प्रगति नभइरहेका बेला दुवै पक्षले लामो दूरीका आक्रमणलाई रणनीतिक रूपमा बढाइरहेका छन् । रूसी सेनाले ड्रोन र तोपखानाबाट करिब ३० वटा आक्रमण गरेको र तीन जिल्लालाई निशाना बनाएको बताइएको छ । यसमा युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको क्षेत्रीय प्रमुखले जानकारी दिएका छन् ।

जापोरिज्जियामा रूसी ड्रोन आक्रमणपछि पार्किङ क्षेत्रमा आगलागी हुँदा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ । युक्रेनी वायु सेनाका अनुसार रूसले रातभर २७२ वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको थियो, जसमा २४९ वटा खसालिएको दाबी गरिएको छ ।

यी आक्रमणहरू त्यही समयमा भएका हुन् जब रूसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीको प्रत्यक्ष भेटवार्ताको प्रस्ताव अस्वीकार गरेका थिए । पुटिनले यस्तो भेटबाट कुनै उपयोग नदेखिएको बताएका थिए । यसअघि जेलेंस्कीले पुटिनलाई सार्वजनिक रूपमा पत्र लेख्दै वार्ताको प्रस्ताव राखेका थिए । २०२२ पछि उनले पहिलो पटक प्रत्यक्ष रूपमा पुटिनलाई सम्बोधन गरेका थिए। उक्त पत्रमा उनले पुटिनको शासन र युद्धलाई लिएर कडा आलोचना गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै