झापा । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारेर राखिएको अवस्थामा भेटिएकी एक युवतीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत जेठ १६ गते फेला परेको शवको सनाखत मृतकका पिता नारायण तिवारीले दमक नगरपालिका–८ बसन्तटोल निवासी अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारीको रूपमा गरेका थिए।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्राविधिकसहितको टोली, प्रदेश प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण र वरपरका निगरानी क्यामेराको दृश्य अध्ययन गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा भारतको बिहार राज्य, अररिया जिल्ला, सिरसियाकला ग्राम पञ्चायत, भरगामा थाना स्थायी घर भई हाल झापा दमक नगरपालिका–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डित घटनामा संलग्न रहेको खुलेको थियो।
सोही आधारमा जेठ २१ गते राति करिब ११ बजे प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले पण्डितलाई दमक–५ स्थित डेराबाट पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितले मृतकसँग पैसासम्बन्धी विवाद भएपछि भएको झगडाको क्रममा हत्या गरेको स्वीकार गरेका छन्।
घटनासम्बन्धी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यानसम्बन्धी कसूर तथा जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपितबाट मृतकसँग भेट हुँदा लगाएको भनिएको क्रिम रङको धर्के टिसर्ट, निलो रङको जिन्स पाइन्ट तथा एक जोर जुत्ता बरामद गरेको छ।
त्यस्तै मृतकलाई चढाएर लगेको भनी आरोपितले बताएका मे २ प ८२३ नम्बरको निलो रङको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।









