काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
'लाइफ इज प्रिसियस, लेट्स अपलिफ्ट इट टुगेदर' भन्ने सन्देशसहित सञ्चालन हुन लागेको कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउन र रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ ।
कम्पनीका अनुसार स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९: ३० बजेदेखि साँझ ६: ३० बजेसम्म कमलादीस्थित केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।
त्यसैगरी रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान ९: ३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीस्थित हेरिटेज प्लाजामा आयोजना गरिनेछ । साथै, सोही दिन देशका सातै प्रदेशमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई आग्रह गरेको छ ।









