काठमाडौँ । अमेरिकाका नौसेना सचिव जोन फेलनलाई पदबाट हटाइएको छ । पेन्टागनले छोटो विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको भए पनि हटाउनुको स्पष्ट कारण खुलाएको छैन ।
मिडिया रिपोर्टका अनुसार पछिल्ला केही महिनादेखि फेलन र पेन्टागनको शीर्ष नेतृत्वबीच मतभेद बढ्दै गएको थियो । विशेषगरी जहाज निर्माण कार्यक्रम, कार्यशैली र नेतृत्वका विषयमा रक्षा मन्त्री पिट हेगसेथसँग उनको विवाद चर्किएको बताइएको छ ।
यो निर्णय अमेरिका इरानविरुद्ध कडा रणनीति अपनाइरहेको समयमा आएको हो । युद्धविरामको चर्चा भइरहे पनि अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी कायम राखेको छ, जसमा नौसेनाको महत्वपूर्ण भूमिका रहेको छ । यस्तो अवस्थामा शीर्ष तहमा गरिएको परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पछिल्लो एक महिनामा यो दोस्रो ठूलो सैन्य फेरबदल हो । यसअघि अप्रिल २ मा रक्षा मन्त्री हेगसेथले अमेरिकी सेनाका प्रमुख र्यान्डी जर्जलाई पनि पदमुक्त गरेका थिए । लगातार भइरहेका यस्ता निर्णयले पेन्टागनभित्र नेतृत्व तहमा ठूलो परिवर्तन र कडाइ भइरहेको संकेत देखिएको छ ।









