जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सशस्त्र प्रहरी निरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
धनुषाको नक्टाझिजस्थित सशस्त्र प्रहरी सुरक्षा बेसमा कार्यरत निरीक्षक वकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।
आयोगका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डमा प्रयोग हुने सवारीसाधन रोक्ने, माटो तथा ग्राभेल झार्न नदिने र विभिन्न बहाना बनाई दुःख दिने गरी सेवाग्राहीसँग घुस माग गरिएको भन्ने उजुरीका आधारमा कारबाही गरिएको हो ।
बर्दिवासस्थित आयोगको टोलीले मिथिला नगरपालिका- १० लालगढबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।









