काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणप्रति चीनले प्रतिक्रिया दिदै 'खेदजनक' भनेको छ ।
भारत र पाकिस्तानबीच बढ्दो तनावको बारेमा सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति 'चिन्तित' रहेको बताए ।
चिनियाँ विदेश मन्त्रालयले भन्यो- 'भारत र पाकिस्तान एकअर्काको छिमेकी हुन् र सधैं रहनेछन् । उनीहरू दुवै चीनका छिमेकी पनि हुन् । चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ ।'
मन्त्रालयका प्रवक्ताले दुवै देशलाई शान्ति कायम राख्न, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउन सक्ने कार्यहरूबाट बच्न अपील गरे ।
बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६-७ मे २०२५ को राति १:०५ देखि १:३० बजेको बीचमा 'अपरेशन सिन्दूर' सुरु गरेको बताइन् ।
उनले भनिन्- 'यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको शिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेशनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो ।'









